
डडेल्धुरा : डडेल्धुरामा रहेका सरकारी कार्यालय निमित्त कर्मचारीको भरमा छन्। जिल्लाका सरकारी कार्यालय निमित्त कार्यालय प्रमुखको भरमा कामकाज गर्दै आएका छन्। कर्मचारी अभाव समेत खेपिरहेको जिल्लाका सरकारी कार्यालय दरबन्दी अनुसारका कार्यालय प्रमुख नहुँदा झनै समस्यामा छन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरादेखि जिल्ला स्थित नगरपालिका र गाउँपालिका समेत निमित्त प्रमुखको भरमा धानिएको छ। लामो समयदेखि दरबन्दी अनुसारका कार्यालय प्रमुखहरू नआउँदा जिल्लाको विकास निर्माणको योजनादेखि योजनाको खाका समेत आवश्यकता अनुसार हुन नसकेको गुनासा छन्।
चार दर्जनभन्दा बढी सरकारी कार्यालय रहेको डडेल्धुरामा संघीय कार्यालय बाहेक अधिकांशमा निमित्त प्रमुख काम चलाई रहेका छन्। अन्य फाँटमा पनि कर्मचारी अभाव छ। निमित्त भई कामकाज गर्दा कुन बेला सरुवा वा अर्को कर्मचारी हाकिम आउने हो ठेगान नै हुँदैन। संघीय कार्यालय भन्दा प्रदेश सरकार मातहतमा रहेका कार्यालयमा कर्मचारी अभाव बढी रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। प्रदेशले मनोमानी कर्मचारी चलाउने र भनसुनका भरमा कार्यालय प्रमुख पठाउने परिपाटीले जिल्लाका कार्यालयहरूमा निमित्त मात्रै रहेका हुन्।


दरबन्दी अनुसारका कर्मचारी अभाव खेपिरहेको जिल्लाले मुख्य जनसरोकारका कार्यालय पनि निमित्तका भरमा रहँदा विभिन्न समस्या झेल्नु परिरहेको गुनासा सेवाग्राहीका छन्। जिल्लाका घरेलु तथा साना उद्योग कार्यालय, नेपाल विद्युत प्राधिकरण, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, यातायात व्यवस्था कार्यालय, कारागार कार्यालय, जिल्ला हुलाक कार्यालय, तरकारी बिउ उत्पादन कार्यालय, डडेलधुरा अस्पताल, कृषि ज्ञान केन्द्र, मालपोत कार्यालय, नापी कार्यालय, पूर्वाधार, उच्चशिक्षा परिषद् लगायतका कार्यालयहरू लामो समयदेखि निमित्तको भरमा छन्।
एकजना लेखापालले दुई भन्दा बढि कार्यालय हेरिरहेका छन्। असार मसान्तको वेला योजना फरफारक तथा बिल भुक्तानीका लागि लेखापालहरूलाई भ्याइनभ्याइ भएको थियो भने अहिले पनि पदपूर्ति हुन सकेको छैन। लेखा शाखाको कर्मचारीले सरकारी कार्यालय र स्थानीय तह समेत हेर्नुपर्ने हुँदा काममा ढिलाई हुने र सेवाग्राहीको समयमा भुक्तानी दिन समस्या छ।
जिल्ला प्रशासन कार्यालय डडेलधुरामा पनि राप प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी हुनु पर्ने हो तर विगतदेखि द्वितीय श्रेणीका काम चलाउँदै रहेका छन्। कर्मचारी सरुवा गर्दा पनि दरबन्दी अनुसारका कर्मचारी दुर्गममा आउन नमान्ने र भनसुनका आधारमा दरबन्दी सुगम क्षेत्रमा नै मिलाउने प्रचलनको मार जिल्लालाई परेको हो।






























