बैतडीमा पहिलाेपटक क्रिकेटकाे टर्फ पिच बन्दै, उत्साहित खेलाडी

Image
Nisarga Hospital

बैतडी: नेपाल क्रिकेट संघ(क्यान)काे सहयाेगमा बैतडीमा पहिलाेपटक टर्फ पिच निर्माण भइरहेको छ। यहाँको दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेकाे बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले बताउनुभयाे। उहाँले भन्नुभयाे,”नेपाल क्रिकेट संघकाे सहयाेगमा पहिलाेपटक सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेको छ।,एकमहिनामा निर्माण गरिसक्ने लक्ष्य छ। पिच निर्माणपछि जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनमा पनि सजिलो हुन्छ।”

CP Hospital Dhangadhi

क्यान पिच निर्माणका लागि एकजना क्युरेटर समेत पठाएकाे छ। सातवटै प्रदेशकाे एक/एक मैदानमा टर्फ पिच बनाउने क्यानकाे निर्णयअनुसार सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयाे। उहाँले भन्नुभयाे,” पिच निर्माणका लागि क्यानले क्युरेटरका रूपमा रमेश ओडलाई पठाएकाे छ। एकमहिनाभित्रै निर्माण गरिसक्ने लक्ष्य रहेकाे छ।”

सुन्दरखाली मैदानमा दुईवटा टर्फ पिच बनिरहेका हुन्। बैतडी जिल्ला क्रिकेट संघले सञ्चालन गर्ने यसपछिका सबै प्रतियोगिता सुन्दरखालीमा टर्फ पिच हुने जनाएको छ।
टर्फ पिच निर्माणपछि यहाँ प्रतियोगिता सञ्चालन हुँदा खेलाडीलाई निकै फाइदा पुग्ने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयाे।

nawajiwan

ग्रास रूट तथा जिल्लास्तरबाटै टर्फ पिचबाट खेलेकाे खेलाडीले माथिल्लो लेभलकाे क्रिकेट खेल्दा आत्मबल बढ्ने गर्दछ। उहाँले भन्नुभयो,” हाल जिल्ला तथा प्रदेश छनाेटमा खेलाडीहरू म्याटमा खेल्ने गर्दछन् तर राष्ट्रिय स्तरकाे प्रतियोगिता टर्फ पिचमा हुन्छ,यहाँ म्याटमा खेलेका खेलाडीलाई एक्कासी टर्फमा खेल्न समस्या हुने गर्दछ।”
जिल्लास्तरबाटै टर्फपिचमा खेलेर राष्ट्रिय प्रतियाेगितामा हुने टर्फ पिचकाे मानसिक दबाब नहुने प्रशिक्षक चन्दकाे भनाइ छ । उहाँले भन्नुभयो,” राष्ट्रिय स्तरकाे प्रतियाेखेलामा खेलाडीलाई टर्फ विकेटकाे प्रेसर हुने,अनइजी फिल हुने गर्दथ्याे, अब टर्फकाे फुल अनुभव हुनेछ। मेन्टली प्रेसर नहुनुका साथै टर्फ विकेटकाे कन्फिडेन्स पनि बढ्नेछ। ग्रासरूटमै यस्तो पिच बन्दा कन्फिडेन्स लेभल बढ्ने, खेल पनि स्टेन्डर हुने विश्वास छ।”

सुदूरपश्चिम प्रदेशमा पहिलाेपटक क्यानकाे मातहत रहेकाे मैदानमा टर्फ पिच बनिरहेकाे हाे।
यसअघि प्रदेशका विभिन्न स्थानमा रहेकाे मैदानमा टर्फ पिच बनेपनि कुनै एक प्रतियाेगिता सञ्चालनका लागि बन्ने पछि मर्मतसम्भार र संरक्षण हुन सकेका थिएनन्।
सुन्दरखालीमा टर्फ पिच बनेपछि क्रिकेट संघले मर्मत र संरक्षण गरेर दीर्घकालीन रूपमा प्रतियोगिता सञ्चालनका लागि याेग्य बनाइने दाबी बैतडी जिल्ला क्रिकेट संघको रहेकाे छ।

टर्फ पिच बन्दा क्रिकेटमै भविष्य खाेजिरहेका खेलाडी पनि उत्साहित र खुसी भएका छन्।

Attariya Hospital

उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका बैतडी घर भएका खेलाडी दीपक बाेहरा टर्फ पिच बन्दा खुसी हुनुभएकाे छ। उहाँले भन्नुभयाे,” टर्फ पिच बनिरहेकाे खबर सुन्दा खुसी भएकाे छु। माथिल्लाे लेबलका सबै प्रतियोगिता टर्फमा हुने गर्दछन्। यसअघि जिल्ला प्रदेश छनाैट म्याटमा खलेर माथिल्लाे लेभलमा टर्फमा खेल्दा असहज हुने गरेकाे थियाे। अब तल्लाे लेभलबाटै टर्फमा खेलेर आउदा माथि निकै सहज हुनेछ। “

यसअघि जिल्ला र प्रदेश छनाैटमा सधै म्याटमा खेल्नुपर्ने बाध्यताकाे पनि अन्त्य हुने महिला क्रिकेटर रितु कनाैजियाले बताउनुभयाे। नेपाली महिला राष्ट्रिय क्रिकेट टाेलीकी पुर्वकप्तान समेत रहनुभएकी रितु भन्नुहुन्छ।,” तलदेखि माथिसम्म टर्फ पिचमै खेल्दा पक्कै पनि सहज हुनेछ। जिल्ला र प्रदेशमा म्याटमा खेल्ने राष्ट्रिय प्रतियोगिता टर्फमा खेल्दा निकै समस्या हुन्थ्यो अब यहीबाट खेलेर जादा उता कन्फिडेन्स बढ्नेछ। म्याटमा बाउन्स हुने, टर्फमा स्वीङ हुने फास्ट बलरलाई फाइदा हुनेछ।”

जिल्ला लेभलबाटै टर्फमा खेल्न पाएपछि करिअरमा सहयोग हुने क्रिकेट खेलाडी जानकी थापाकाे आत्मविश्वास रहेकाे छ। उहाँले भन्नुभयाे,”क्रिकेटमै करिअर खाेजिरहेका मजस्तै अन्य खेलाडीले जिल्लास्तरबाटै टर्फमा खेल्दा माथिल्लो लेभलका गेमहरू खेल्दा पक्कै पनि सजिलाे हुनेछ। हामी यता म्याटमा खेलेका हुन्छौं, एक्कासी मूलपानी, टियुमा खेल्न जाँदा हामीलाई त्यसको अनुभव हुदैन। यसरी हामीले टर्फमा अहिलेदेखि खेल्न पायौं भने उता गएर पनि राम्रो खेल्न सहयोग पुग्छ।”

उमेर समूहकै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी खडक बाेहरा पनि गृहजिल्ला बैतडीमा टर्फ पिच बन्दा उत्साहित हुनुभएको छ। उहाँले भन्नुभयाे,” ग्रास रूटबाटै टर्फपिचकाे अनुभवले माथिल्लो लेभलकाे क्रिकेट खेल्न निकै सहजता ल्याउनेछ ।”

क्रिकेटकाे मुख्य आधारशिला जिल्लास्तर नै रहेकाेले नेपाल क्रिकेट संघले पनि जिल्लाबाटै क्रिकेट विकासमा ध्यान दिएकाे जनाएको छ।

ग्रासरूटबाटै क्रिकेटको विकासका काम भइरहेकाे नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयाे,” ग्रासरूटबाटै क्रिकेटको विकासका लागि खेल पूर्वाधार निर्माण र उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जाेड दिएका छाैं।यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ । क्यानले गर्ने सहयाेगमा कमी हुदैन ।”