
बैतडी – वर्षातका कारण अवरुद्ध भएका बैतडीको सिगास गाउँपालिकाकाका ग्रामीण सडक सञ्चालनमा आउन थालेका छन् । दशैँको समयमा ग्रामीण क्षेत्रका नागरिकहरुलाई सहज होस भनेर सडक खुलाउने काम भइरहेको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले बताए ।

अहिले श्रीभावर देखि गर्जे सडकखण्ड सफाइको काम भइरहेको अध्यक्ष धामीको भनाइ छ । उनले भने ‘हामीले दशैँलाई लक्षित गरेर सडक सुचारु गरिरहेका छौँ । सबै वडाका मुख्य सडकलाई प्राथमिकतामा राखेर सडक सफाइको काम भइरहेको छ ।’ गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर सडक सफाइको काम अघि बढाएको अध्यक्ष धामीले बताए ।
दशैँलाई लक्षित गरेर सिगास गाउँपालिकाले सडक सफाइलाई तीव्रता दिएको छ । दशैँको समयमा आवतजावतमा सहज होस भनेर सडक सफाइको काम भइरहेको गाउँपालिकाकाले बताएका छ ।




सिगास गाउँपालिकाको केन्द्र पुग्ने बेलापुर ढुङ्गाड हुँदै गर्जे सडकखण्ड, बझाङको देउलेक देखि गर्जे सडकखण्ड, लगन सिन्याखेत हुँदै गर्जे सडकखण्ड लगायत दुदिलाखान गर्जे सडकखण्ड, गाँजरी देखि कुर्चिनेटा सडकखण्ड, गाँजरी धौलाडी हुदै काँठा पुग्ने सडकखण्ड लगायत सवै वडा कार्यालयका शाखा सडकखण्ड लगत्तै सफाइको काम थालिने गाउँपालिकाले जनाएको छ ।


































