
कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–१ मा पतिपत्नीको शव फेला परेको छ। लालझाडी गाउँपालिका–१ बिनवारीमा सोही ठाउँका ४६ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको शव रक्ताम्य अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले नेपालखबरलाई दिएको जानकारीअनुसार आफ्नै घरको ओछ्यानमा रक्ताम्य अवस्थामा आज बिहान उनीहरुको शव भेटिएको हो। प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या भएको हुन सक्ने देखिएको डीएसपी जोशीले बताए।

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीमा पतीपत्नीको शव भेटिएको घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर मगाएर प्रहरी टोली अहिले घटनास्थलमा छ। घटनास्थल अहिले सील गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशी आफैँ घटनास्थल पुगेका छन्।
शुक्रबार बिहान बिनवारीमा ४६ वर्षीया रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको बीभत्स ढंगले हत्या गरेको अवस्थामा शव भेटिएको थियो।





























