
हरिश्चन्द्र बाग/ कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीमा ‘पौष १५ विशेष सांस्कृतिक कार्यक्रम’ को तयारी भइरहेको छ । बेलडाँडी पर्यटन प्रवर्द्धन समिति र बेलडाँडी युवा समाजको सहकार्यमा ‘पौष १५ विशेष सांस्कृतिक कार्यक्रम’ आयोजना गरिने जनाइएको छ । स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्दै मौलिक पहिचान झल्किने संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक बेलडाँडी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष गोकर्ण जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय कलाकारहरूले आफ्ना प्रतिभा प्रदर्शन गर्न पाउने बताइएको छ । यसले उहाँहरूलाई थप प्रोत्साहन र पहिचान दिलाउने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रस्तुति दिन इच्छुक कलाकारहरूले अग्रिम नाम दर्ता गराउनु पर्ने अध्यक्ष जोशीले भन्नुभयो । गायन तर्फ लोकगीत, देउडा र आधुनिक गीतहरू, नृत्य तर्फ डोटेली र थारु संस्कृतिलाई झल्काउने आकर्षक प्रस्तुति तथा मौलिक संस्कृति र मौलिकतालाई उजागर गर्ने विविध सांस्कृतिक गतिविधिहरू गरिने भनिएको छ ।

बेलडाँडी पर्यटन प्रवर्द्धन समिति र बेलडाँडी युवा समाजले यही पुस १५ गते हुने कार्यक्रम सफल बनाउन सबै क्षेत्रबाट सहयोगको अपिल गरेका छन् । सांस्कृतिक धरोहरको संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन सम्पूर्ण स्थानीय बासिन्दालाई सहभागी हुन आग्रह गरिएको छ । कार्यक्रम बेलडाँडी गाउँपालिका वडा नम्बर २ चवन्नी बजार पछाडिको खुला मैदानमा दिउँसो २ बजेदेखि आयोजना हुने जनाइएको छ ।






























