
डडेल्धुरा: अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभावले कामकारबाही प्रभावित भएको छ। २०७५ सालमा डडेल्धुरा र बझाङ कार्यक्षेत्रका लागि स्थापना भएको यस कार्यालयमा अहिले एक प्राविधिक सहायक र एक कार्यालय सहयोगी मात्रै कार्यरत छन्।

दरबन्दी भए पनि कर्मचारी उपलब्ध छैनन्
कार्यालयमा तीन कर्मचारीको दरबन्दी छ, जसमा दुई प्राविधिक सहायक र एक खाद्य अनुसन्धान अधिकृत हुनुपर्ने हो। तर, खाद्य अनुसन्धान अधिकृत अध्ययन बिदामा रहेकाले अनुपस्थित छन् भने एक प्राविधिक सहायक काजमा दाङ गएकाले हाल प्राविधिक सहायक अभिलाषा अर्यालले सबै जिम्मेवारी सम्हाल्नुपरेको छ।

डडेल्धुराको सातै पालिकामा होटल र उद्योग निरीक्षण, अनुगमन, तथा खाद्य नमूना सङ्कलन जस्ता काम कार्यालयको जिम्मेवारीमा पर्छ। तर, कर्मचारीको अभावका कारण अरु काम गर्न नसकिएको अर्यालले बताए। “अनुगमन गर्न फिल्डमा जाँदा कार्यालय बन्द गर्नुपर्ने बाध्यता छ,” उनले भने।

कर्मचारी अभावले कार्यालयको नियमित कामकाज प्रभावित हुँदा सेवाग्राहीमा असन्तोष बढेको छ। जनशक्तिको समस्या समाधान गर्न सम्बन्धित निकायले चाँडै कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।






























