
बाजुराः बाजुराको त्रिवेणी नगरपालिकामा मोटरेबल पुलको अभावका कारण स्थानीयले वर्षौंदेखि जोखिमपूर्ण काठका कच्ची पुलबाट यात्रा गर्न बाध्य छन्। हिउँदमा मौरे, बल्दे, र मालागाड खोलामा काठको पुल बनाएर गाडी वारपार गराइन्छ, तर वर्षा लाग्नेबित्तिकै यी पुल बगेर नष्ट हुन्छन्।

त्रिवेणी नगरपालिकाले काठका पुल बनाउन मात्र ७ वर्षमा करिब २ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ। “स्थायी मोटरेबल पुल निर्माण हुन नसक्दा बर्सेनि यो बजेट नदीमा बगिरहेको छ,” नगर प्रमुख कर्णबहादुर थापाले बताए।
मोटरेबल पुल निर्माणको ठेक्का तीन वर्षअघि बिकोइ बिल्डर्सलाई दिइएको भए पनि ठेकेदारको लापरबाहीले काम सुरु भएको छैन। ठेकेदारले १६ करोडको सम्झौता गरिसकेर १ करोड ४० लाख पेस्की भुक्तानी लिए पनि निर्माण प्रक्रिया ठप्प छ।




स्थायी पुल अभावले स्थानीयलाई दैनिक जीवनमा कठिनाइ भएको छ। “कच्ची पुल जोखिमपूर्ण छ, मालवाहक गाडी चल्न सक्दैनन्, र सामान भरिया मार्फत ढुवानी गर्दा महँगो पर्छ,” त्रिवेणी–७ का निरज ऐडीले बताए।
स्वास्थ्य क्षेत्र पनि प्रभावित छ। आपतकालीन अवस्थामा बिरामीलाई स्टेचरमा बोकेर लैजानुपर्छ। “प्रसूति र इमर्जेन्सी केसमा वर्षाको समय झनै चुनौतीपूर्ण हुन्छ,” कैलाशमाण्डौं स्वास्थ्य चौकीकी अनमि रूपा चौधरीले भनिन्।
स्थायी मोटरेबल पुल निर्माण हुन नसक्दा त्रिवेणीका बासिन्दा सडकको पहुँचबाट वञ्चित हुनुका साथै जोखिम र महँगीको मारमा परेका छन्।


































