
बैतडी जिल्लाको पाटनमा निस्सासिएर एक युवकको मृत्यु भएको छ। शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–6 निवासी ३७ वर्षीय पुनाराम थारुको निस्सासिएर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान अचेत अवस्थामा फेला परेका थिए। उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिए पनि उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ।

मृतकका आफन्त कैलालीबाट आउन लागेको हुँदा पोष्टमार्टमको प्रक्रिया पछि सुरु हुने प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा कोइला बालेर सुतेका कारण कोठामा अक्सिजनको अभाव भई निस्सासिएको कारण मृत्यु भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































