
अमेरिकाको दक्षिणी सहर न्यु ओरलियन्सको फ्रेन्च क्वार्टरमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या १५ पुगेको छ।

नयाँ वर्षको अवसरमा भीडभाड रहेको लोकप्रिय गल्लीमा कार कुद्दा यो दुर्घटना भएको हो। फ्रेन्च क्वार्टर बार, क्लब, र नाइट लाइफका लागि प्रख्यात ठाउँ हो।
गल्लीमा सङ्गीत गुन्जिरहेको समयमा एक्कासी कार भीडमाथि कुद्दा रुवाबासी र भागदौड मच्चिएको थियो। टेक्ससका ४२ वर्षीय समसुदिन जबारले उक्त कार चलाएका थिए। प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिन खोज्दा उनको मृत्यु भएको छ।

यस घटनामा १५ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्। घाइतेहरूमा दुई प्रहरी पनि रहेका छन्।

फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले घटनास्थलमा इस्लामिक स्टेटको झन्डा फेला परेको जनाएको छ। यसले घटनालाई आतङ्कवादी गतिविधिको सूचीमा राखिएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको अनुमान गरिएको छ।
घटना स्थानीय समय अनुसार बिहान ३:१५ मा भएको हो। लुसियाना राज्यको यो क्षेत्र ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। सन् १७१८ मा फ्रान्सेलीहरूले निर्माण गरेको यस क्षेत्रलाई “फ्रेन्च क्वार्टर” भनिन्छ।
हरेक वर्ष यहाँ लाखौँ पर्यटकहरू रमाउन आउँछन्। यो सहर विशेषगरी सङ्गीत प्रेमीहरूका लागि आकर्षणको केन्द्र हो।
यो त्रासदीले पीडित परिवारहरूमा गहिरो चोट पु¥याएको छ। ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको चाँडो स्वास्थ्यलाभको कामना गरिन्छ।































