
महिला जनप्रतिनिधिहरूको प्रेरणादायक कार्यलाई सम्मानित गर्नका लागि आयोजना गरिएको शी लिड्स आइकन कार्यक्रममा बैतडीको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी, बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र बाजुराका गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा उत्कृष्ट तीन जनामा चयन भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एक विशेष समारोहमा तीन महिला जनप्रतिनिधिहरूलाई अवार्ड र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। १२८ महिला जनप्रतिनिधिहरूबाट चयन गरिएको २७ जनाको सर्ट लिस्टबाट तीन जनाले यो सम्मान प्राप्त गरेका हुन्।


प्रधानमन्त्री ओलीले कार्यक्रममा महिलाको जागरुकता र नेतृत्वको महत्त्वलाई औंल्याउँदै भन्नुभयो, “महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियताले व्यवस्थामा र समाजमा सकारात्मक परिवर्तन ल्याएको छ।” उनले थप्नुभयो, “महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो,” र ४० प्रतिशत महिला जनप्रतिनिधिको सहभागिता स्थानीय तहमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको बताए।
शी लिड्स आइकन २०८१ कार्यक्रम नेपालको राजनीति क्षेत्रमा महिला सशक्तिकरणका लागि गरिएको एउटा महत्वपूर्ण पहल हो, जसको उद्देश्य महिला स्वास्थ्य, उद्यमशिलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ७ महिला जनप्रतिनिधिहरूको नेतृत्वलाई विश्व सामु पुर्याउनु हो।































