
कञ्चनपुरको बेलौरी नगरपालिकाको सभाहलमा सुदूरपश्चिम प्रदेशको विधायन तथा प्रदेश मामिला समितिद्वारा आयोजित सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरिका ४० भन्दा बढी स्थानीय तहका पालिका प्रमुख, गाउँपालिका अध्यक्ष, र जिल्ला समन्वय समितिका प्रमुखहरूको उपस्थिति रहेको थियो।


कार्यक्रमको सभापति विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्ट थिए। प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भीम बहादुर भण्डारी रहेका थिए। साथै, विधायन तथा प्रदेश मामिला समितिका सदस्यहरू, नगरपालिका संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा गोदावरी नगरपालिका नगरप्रमुख बिरेन्द्र भट्ट लगायत स्थानीय तहका प्रमुख, र उपप्रमुखहरूको पनि उल्लेख्य सहभागिता थियो।
सुझाव संकलनमा स्थानीय तहको सहभागिता
कार्यक्रममा सहभागी स्थानीय पालिका प्रमुख र गाउँपालिका अध्यक्षहरूले प्रदेश सरकारलाई विधेयकमा समावेश गर्नुपर्ने विभिन्न आवश्यक राय र सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले स्थानीय तहमा कार्यान्वयन गर्नुपर्ने ऐन, नीति, र कार्यक्रमलाई प्रभावकारी बनाउन आफ्ना धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै समितिका सभापति दिवान सिंह बिष्टले अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावहरूलाई बृहत छलफल गरी आगामी माघ १५ गतेभित्र “स्थानिय सेवा ऐन” प्रदेश सभामा पेश गरिने जानकारी दिए। उनले प्रदेशस्तरका नीति निर्माणमा कर्मचारीहरूको मूल्य र योगदानलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
कानुन निर्माणका लागि सुझाव संकलन
सुदूरपश्चिमका ९ वटै जिल्लाका स्थानीय तहहरूबाट सुझाव संकलन गरी विधायन तथा प्रदेश मामिला समितिले समावेशी र प्रभावकारी कानुन निर्माणको प्रयास गरिरहेको छ। समितिले यसअघि विभिन्न जिल्लामा गएर स्थानीय तहसँग परामर्श र सुझाव लिने काम सम्पन्न गरेको छ।
यो कार्यक्रमले स्थानीय तहको सहभागिता र उनीहरूको रायलाई प्रदेश स्तरको नीति निर्माणमा समेट्ने महत्त्वपूर्ण प्रयास गरेको छ। यसले सुदूरपश्चिम प्रदेशको कानुनी र प्रशासनिक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



































