
अत्तरियाः कृष्णपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र निमेष सामुदायिक अस्पताल गुलरियाको प्राविधिक सहयोगमा आज बिहानदेखि वडा नं. ८ स्थित रैकवार बिचवा स्वास्थ्य चौकीमा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचान तथा निदानका लागि भव्य स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ।

विशेष गरी थारु समुदायलाई लक्षित गरिएको यस शिविरमा बिहानैदेखि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, र स्वयंसेवकहरूको सक्रिय सहभागिता देखिएको छ। शिविरमा नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाको नेतृत्वमा जनप्रतिनिधिहरूको टोलीले निरन्तर अनुगमन गरिरहेका छन्।

थारु समुदायका लागि विशेष अवसर
शिविरले सिकलसेल एनिमिया र थालेसिमियाजस्ता गम्भीर र विरलै पहिचान हुने रोगहरूको परीक्षण र निदानका लागि थारु समुदायका सबैलाई सुनौलो अवसर प्रदान गरिरहेको छ। स्वास्थ्यकर्मीको टोली अत्याधुनिक उपकरण र विशेषज्ञ ज्ञानसहित बिहानैदेखि सेवामा जुटिरहेको छ।
नगर प्रमुख हेमराज ओझाले शिविरको औपचारिक उद्घाटन गर्दै यस्तो स्वास्थ्य कार्यक्रमले स्थानीय समुदायलाई दीर्घकालीन फाइदा पुर्याउने विश्वास व्यक्त गरे। “हामीले समुदायको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ। यस्ता शिविरहरूले समुदायमा सचेतना र रोग पहिचानका लागि महत्वपूर्ण भूमिका खेल्छन्,” ओझाले बताए।

शिविर बेलुकीसम्म जारी रहने भएकाले वडा नं. ८ का २ वर्षमाथिका सम्पूर्ण थारु दाजुभाइ दिदीबहिनीलाई निशुल्क परीक्षण गराउन विशेष अनुरोध गरिएको छ। स्वास्थ्य शाखाले यो शिविरमा सहभागी भएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श लिन सबैलाई आग्रह गरेको छ।
शिविरको प्रारम्भदेखि नै स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ। शिविरमा स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श, र रोग नियन्त्रणसम्बन्धी जानकारीसमेत उपलब्ध गराइँदै छ।
थारु समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको यो शिविरले सिकलसेल र थालेसिमिया रोगको पहिचानमा नयाँ माइलफलक बन्ने विश्वास गरिएको छ।





































