
डोटीः बोगटान फूडसिल गाउँपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर बमको कार्यशैली अन्य वडाध्यक्षभन्दा बेग्लै छ। चारपांग्रे गाडी वा मोटरसाइकलमा कार्यालय धाउने प्रवृत्ति सामान्य मानिने समयमा ४० वर्षीय कृष्ण भने हरेक दिन घोडा चढेर कार्यालय पुग्छन्।

उनले परम्परागत साधनको प्रयोगलाई निरन्तरता दिँदै जनप्रतिनिधिका रूपमा आफूलाई गाउँका जनतासँग अझै नजिक बनाएका छन्। ‘अहिले पनि सबै गाउँमा सडक पुगेको छैन। घोडा चढ्दा उकाली, ओराली र सडक नभएको ठाउँमा पनि सजिलै पुग्न सकिन्छ,’ वडाध्यक्ष बमले भने।
परम्परा र वातावरणप्रति जिम्मेवारी
वडाध्यक्ष बमको घरमा बोलेरो जिप, डोजर र ट्याक्टरजस्ता सवारी साधन भए पनि उनले घोडा चढ्नै रोजेका छन्। ‘परम्परालाई निरन्तरता दिन मन लाग्छ,’ उनले भने, ‘मलाई घोडा चढ्न बानी परिसकेको छ, नयाँ मानिसलाई असन्तुलन भएर ढाड र जीउ दुख्न सक्छ।’
उनका अनुसार घोडा चढ्नु वातावरणमैत्री भए पनि सस्तो भने छैन। ‘घोडाको स्याहारसुसार र नियमित दानामा महिनामा ८ देखि १० हजार रुपैयाँ खर्च हुन्छ,’ उनले बताए।
जनतासँग नजिक हुने माध्यम
घोडा स्थानीय जीवनशैलीको हिस्सा भएकाले जनतासँग सहज रूपमा घुलमिल हुन मद्दत मिलेको वडाध्यक्ष बमको भनाइ छ। सडक सञ्जालले अझै छोएनका ठाउँमा पुग्न घोडा प्रभावकारी साधन भएको उनी बताउँछन्।
यसरी परम्परालाई पछ्याउँदै र जनताको सेवामा प्रतिबद्ध भई घोडा चढेर कार्यालय जाने वडाध्यक्ष बम अन्य प्रतिनिधिका लागि फरक उदाहरण बनेका छन्।






























