
हमासले इजरायलविरुद्धको आक्रमणका क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचार संस्था बीबीसीका अनुसार हमासका एक उच्च अधिकारीले रिहाइका लागि बन्दीहरूको नाम समावेश भएको सूची तयार पारिएको जानकारी दिएका छन्। सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्।

हमासका ती अधिकारीले सूची इजरायल सरकारलाई बुझाइसकेको दाबी गरे पनि इजरायल सरकारले यस्ताे सूची प्राप्त नभएको प्रतिक्रिया दिएको छ। बीबीसीले सो सूची सम्भावित युद्धविराम सम्झौताका लागि तयार गरिएको उल्लेख गरेको छ।
स्मरणीय छ, हमासले गत ७ अक्टोबर २०२२ मा इजरायली भूमिमा आक्रमण गर्दा १,२०० भन्दा बढी मानिसको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो। मृत्यु हुनेमध्ये १० जना नेपाली विद्यार्थीसमेत थिए।

सूचीमा छैन विपिन जोशीको नाम
हमासले रिहा गर्न लागेका बन्दीहरूको सूचीमा कञ्चनपुरका नेपाली विपिन जोशीको नाम नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासले उपलब्ध गराएको सूचीमा जोशीको नाम नपरेको पुष्टि गरेका हुन्।
हमासले रिहा गर्न लागेको सूचीमा १० महिला, ५० देखि ८५ वर्ष उमेर समूहका ११ पुरुष तथा यसअघि ‘मृत्यु भइसकेको’ भनिएका केही बालबालिका समेत रहेको बीबीसीले जनाएको छ। यी सबै बन्दी इजरायली नागरिक हुन्।

हमासले आक्रमणका क्रममा विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए। त्यसयता विपिनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त भएको छैन। सन् २०२३ को नोभेम्बरमा सार्वजनिक भएको अल–शिफा अस्पतालको सीसीटीभी फुटेजमा हमासको नियन्त्रणमा रहेका केही व्यक्तिहरू देखिएका थिए। इजरायली सेनाले तीमध्ये एकजना नेपाली भएको जनाएको थियो।
विपिनका दाजु किशोर जोशीले फुटेजमा देखिएको व्यक्ति आफ्नै भाइ भएको दाबी गरे पनि यसबारे पुष्टि हुन सकेको छैन। विपिनको अवस्थाबारे जानकारी पाउन नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ।
इजरायलमा रहेका नेपाली राजदूत धनप्रसाद पण्डितले गाजा नजिकैको घटनास्थल किबुत्ज अलुमिम पुगेर घटनाक्रमको अध्ययन गरेका छन्। विपिनको खोजीमा सबै सम्भाव्य उपाय अपनाइँदै आएको बताउँदै उनले भने, “यदि विपिन सकुशल छन् भने उनको रिहाइका लागि आशा गर्न सकिन्छ।”
नेपाल सरकारले विपिन जोशीको अवस्थाबारे जानकारी पाउन र उनको सुरक्षित रिहाइ सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कूटनीतिक च्यानलबाट प्रयास जारी राखेको छ।































