
बैतडीः बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगितामा कैलालीले पहिलाे जित दर्ता गरेकाे छ।

पहिलाे जित दर्ता गर्ने क्रममा कैलालीले दार्चुलालाई १० विकेटले हरायाे।
जितका लागि पाएकाे १०२ रनकाे लक्ष्य कैलालीले ८.२ ओभरमा विना विकेटको क्षतिमा भेट्टायाे।
जसमा मनिशा बाेहराले अविजित ३९ र शाेभा राेकायाले २८ रनकाे याेगदान गरिन्।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे दार्चुला १९.३ ओभरमा १०१ रनमा समेटियो ।
उसका गिता चन्दले २० रन जाेडिन्।

कैलालीका हिसिला खड्काले ३, लक्ष्मी रानाले २ विकेट हात पारिन्।
हिसिला प्लेयर अफ द म्याच चुनिइन्।

दुई खेलबाट पहिलाे जित दर्ता गरेकाे कैलालीकाे फाइनलकाे सम्भावना जीवितै छ। लगातार दुई खेल हारेकाे दार्चुला भने प्रतियोगिताबाट बाहिरिएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजना पुस १९ गतेदेखि सुरू भएकाे प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले बताउनुभयाे।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।






























