
अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुरु भएको छ। कृष्णपुर नगरपालिका २ वाणीको सरस्वती माविको प्राङ्गणमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो। एक समारोहमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको बृद्धि विकासमा र समग्र क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।

मन्त्री थापाले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक योजना ल्याएको पनि जानकारी दिए। पहिलो पटक कृष्णपुर २ वडाको सरस्वती माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना भएको १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सरस्वती माविका पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, नगर क्षेत्रका खेलाडी र समाजसेवीलाई पुरस्कार प्रदान गरिएको छ।

उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिंह साउदले आफ्नो वडामा पहिलो पटक आयोजित राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताले उत्साह जगाएको बताए। उनले भने, “हाम्रो वडा र नगर खेलकुदको उर्बरभूमि हो, यस प्रतियोगिताबाट खेलकुद क्षेत्रमा नयाँ आयाम थप्नेछ।” उनले नगरभरीका विद्यार्थी, शिक्षक र समुदायको सक्रिय सहभागिताले वाणी क्षेत्रलाई खेलकुदमय र स्थानीय पर्यटनको प्रर्वद्धनमा सहयोग पुर्याउने बताएका छन्।
सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक अम्बादत्त बडूले विद्यालयमा पहिलो पटक आयोजित राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताले विद्यार्थी, शिक्षक र अभिभावकहरूमा उत्साह र खुशी ल्याएको बताएका छन्।

कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकाश खड्काले यस वर्षको नगरस्तरीय खेलकुद प्रतियोगिता उत्साहजनक रहेको र पुरस्कृतहरूको संख्या विगतको भन्दा बढाइएको बताए। कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले जिल्लाका केही पालिकाले नगरस्तरको छनौट प्रतियोगिता सम्पन्न गरेको उल्लेख गर्दै, जिल्लाभरी खेलकुद महोत्सवको माहोल सिर्जना भएको बताए।
कार्यक्रमको अध्यक्षता गर्दै कृष्णपुर नगरका मेयर हेमराज ओझाले नगरमा खेलकुद महोत्सवले उत्साहको वातावरण सिर्जना गरेको बताए। उनले संघीय सरकारको नियमित खेलकुद प्रतियोगितासँगै नगरले पनि खेलकुद क्षेत्रको विकासका लागि कार्यक्रम अघि बढाएको जानकारी दिए। मेयर ओझाले भने, “नगरको लक्ष्यअनुसार पालिकाले फरक फरक भूगोलमा प्रतियोगिता आयोजना गरेर विद्यालय स्तरबाट खेलकुदको विकास गर्न खोज्दैछ।”
“नगर खेलकुद प्रतियोगितामा सहभागिताका लागि सबै सामुदायिक र संस्थागत विद्यालयले आफ्ना खेलाडी छनौट गरिरहेका छन्। हामीले एक विद्यालय एक खेलकुद मैदान निर्माण गर्ने लक्ष्य राखेका छौँ,” मेयर ओझाले भने। उनले थपे, “यो खेलकुद महोत्सव पनि हो, हामी यसलाई उत्सवका रूपमा मनािरहेका छौँ र विद्यार्थी, शिक्षक, अभिभावकहरूको सक्रिय सहभागिता रहेको छ।”
मेयर ओझाका अनुसार, प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेहरूलाई नगद ५, ३ र २ हजार पुरस्कार प्रदान गरिनेछ। यस प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाका प्रमुख आथित्यामा उद्घाटन हुनेछ।
यो वर्षको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २६ विद्यालयबीच प्रतिस्पर्धा हुँदै छ, जसमा कृष्णपुर नगरपालिकाको पश्चिमी क्षेत्रको वाणी गाउँमा रहेको सरस्वती माध्यामिक विद्यालयमा आयोजना भएको प्रतियोगिता, गत वर्षको गुलरिया स्थित कृष्ण माध्यामिक विद्यालयमा भएको प्रतिस्पर्धासँग तुलना गर्दा नगरको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण कदम हुनेछ।





































