
डडेल्धुरा: परशुराम नगरपालिकाको ऐतिहासिक र धार्मिक महत्व बोकेको परशुराम तीर्थमा मकर सङ्क्रान्तिको अवसर पारेर भव्य आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। परशुराम नगरपालिका–५, परिगाउँमा अवस्थित भगवान् परशुरामको जन्मस्थल मानिने यो पवित्र तीर्थस्थलमा मकर मेलाको अवसरमा विशेष कार्यक्रमहरू हुनेछन्।

विश्व हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा पौष २९ गतेदेखि माघ १ गतेसम्म चल्ने कार्यक्रमलाई मकर महास्नानको उत्सवका रूपमा मनाइने छ। विश्व हिन्दु युवा संघ डडेल्धुराका अध्यक्ष मोहन ऐर (रोहन)का अनुसार यस वर्षको मकर मेला अझै भव्य बनाउने उद्देश्यका साथ विविध गतिविधि समावेश गरिएका छन्।
कार्यक्रमका मुख्य आकर्षणमा आध्यात्मिक प्रवचन, धार्मिक अनुष्ठान, मकर स्नान, र परम्परागत सांस्कृतिक प्रस्तुति रहनेछन्। मेलामा स्थानीय कला र संस्कृति झल्काउने सांस्कृतिक नृत्य, भजन-कीर्तन, तथा धर्मगुरुहरूद्वारा प्रवचन प्रस्तुत गरिनेछ।




परशुराम तीर्थ हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्त्वको स्थान हो। भगवान् परशुरामको जन्मस्थल मानिने यो ठाउँले धार्मिक पर्यटनको केन्द्रका रूपमा पहिचान बनाउँदै आएको छ। आयोजकका अनुसार मेलामा हजारौँ श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
यस मेलाले धार्मिक तथा सांस्कृतिक मूल्यहरूको प्रवर्द्धन गर्दै स्थानीय पर्यटन र अर्थतन्त्रलाई समेत टेवा पुर्याउने विश्वास लिइएको छ। मेला सफल बनाउन स्थानीय समुदाय, संघ-संस्था र प्रशासनको विशेष सहयोग रहने आयोजकले जनाएका छन्।
परशुराम तीर्थको पवित्र वातावरणमा धार्मिक गतिविधिमा सहभागी हुने इच्छुकलाई यो मेला आध्यात्मिक शान्ति र परम्परागत संस्कृतिको अनुभव गराउने एक अनुपम अवसर बन्नेछ।


































