
बैतडी: बैतडीका एक युवकको भीरबाट लडेर भारतमा मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका – ८ लुपुण मल्लाडौड घर भएका २८ बर्षीय प्रेमसिंह बोहराको भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए ।
भारतको पिथौरागढमा काम गर्दै आएका बोहरा मंगलबार साँझ ५ बजेतिर काम सकेर कोठातर्फ फर्कने क्रममा भीरबाट लडेका बताइएको छ । भीरको बाटोबाट लडेका बोहरा करीब १५० मिटर तल खसेका जनाइएको छ।


भीरबाट लडेर गम्भीर घाइते भएका बोहरालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । करीब डेढ महिना पहिलामात्रै रोजगारीका लागि भारतको पिथौरागढ गएका बोहराको उतै मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको छ ।
मृतक बोहराको घरमा श्रीमती र चार जना छोराछोरी रहेका छन् । त्यस्तै उनका आमा–बुवा छोराको मृत्युको खबरले विक्षिप्त बनेका छन् ।
गाउँको युवा परदेशमा अस्ताएपछि लुपुण गाउँ शोकमा डुबेको छ ।





























