
अछामको ढकारी गाउँपालिका–८ घोडासैनमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्।

गाउँपालिकाको वडा नम्बर १ स्थित छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको छ। अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार मृतक किशोरीहरू फुपू–भदैको नाताले एकै घरका थिए।
प्रहरीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन जंगल गएका थिए। साँझसम्म पनि घर नफर्केपछि परिवारले खोजी गरिरहेको थियो, तर प्रहरीलाई भने तत्काल जानकारी दिइएको थिएन।


शनिबार साँझ ६ बजेपछि मात्रै किशोरीहरूको शव फेला परेको प्रहरी प्रमुख भण्डारीले बताए। ‘किशोरीहरू हराएको जानकारी प्रहरीलाई आएको थिएन। आज राति घटनास्थलको सुरक्षा मात्र गर्न सकिने अवस्था छ,’ उनले भने।
प्रहरी प्रमुखका अनुसार आइतबार बिहान प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा पुग्नेछ र थप अनुसन्धान अघि बढाइनेछ।





























