
बाजुरा : जिल्ला अस्पताल, बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। आइतवार बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको शल्यक्रिया सम्पन्न भएको हो।

जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. चन्द्र शेखर यादवका अनुसार थापा पेट दुख्ने समस्यासहित अस्पताल आएका थिए, जहाँ उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरियो। न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुगमनका क्रममा जिल्ला अस्पताल अछामका प्रमुख डा. कमलेश राय यादवको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको थियो।
एमडीजीपी विशेषज्ञ डा. कमलेश राय यादवको टोलीमा डा. पवन अर्याल, डा. राजेश शाक्य र स्टाफ नर्स सञ्जिता कुमारी खड्का संलग्न थिए। सूचना अधिकारी नृप गिरीका अनुसार एमडीजीपी विशेषज्ञ डा. दुर्गा महर्जनको विदाइपछि पहिलो पटक बाजुरा अस्पतालमा एमडीजीपी चिकित्सकद्वारा मेजर शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।




डा. यादवका अनुसार बिरामीको एपेन्डिक्स भित्रै कुहिएको अवस्थामा रहेको थियो। उनले बाजुरा, अछाम र डोटी जिल्लाका जटिल प्रकृतिका बिरामीहरूको उपचारका लागि भगिनी सम्बन्ध आवश्यक रहेको बताए।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा अभावका कारण धेरै बिरामीको ज्यान जाने स्थिति रहेको भन्दै उनले यस्ता सेवा विस्तार गर्नुपर्नेमा जोड दिए। जिल्लामा एमडीजीपी विशेषज्ञ चिकित्सकको आवश्यकताप्रति सम्बन्धित निकायले पहल गर्नुपर्ने उनको भनाइ छ।


































