
माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भक्तिपूर्वक मनाइँदैछ। यस दिन भक्तजनहरूले भगवान् विष्णुको पूजा आराधना गर्दै व्रत बस्ने परम्परा रहेको छ। भीमा एकादशीलाई जया एकादशी पनि भनिन्छ, जसको व्रतले कार्यक्षमता, मानसिक सामर्थ्य, शक्ति वृद्धि, आयु वृद्धि तथा आत्मिक उन्नतिको मार्ग प्रशस्त गर्ने विश्वास गरिन्छ।

शास्त्रीय मान्यता अनुसार, एकादशी व्रतको तयारी दशमीकै दिन सुरु गरिन्छ। यस दिन हात, गोडा र नङ सफा गरी स्नानपछि हविष्य भोजन ग्रहण गर्ने परम्परा छ। एकादशीको दिन ब्रह्म मुहूर्तमा उठी ‘जया नाम्नीती विख्याता सर्व पापहरा परा’ मन्त्र जप्दा समस्त पापहरू नष्ट हुने विश्वास गरिन्छ।

पण्डित बालमुकुन्द देवकोटाका अनुसार, भीमा एकादशी अति पुण्यदायी मानिन्छ। यस व्रतको पालनले व्यक्तिलाई भूत, प्रेत, पिशाच जस्ता नीच योनिबाट मुक्त गराउने विभिन्न शास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ।

यस अवसरमा देशभरका विष्णु मन्दिरहरूमा विशेष पूजा, भजन-कीर्तन तथा प्रवचन कार्यक्रमहरू आयोजना भएका छन्। भक्तजनहरूले श्रद्धापूर्वक उपवास एवं पूजाआराधना गरी यो एकादशी पर्व मनाइरहेका छन्।




























