
अत्तरिया: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले डडेल्धुराको चर्चित पर्यटकीय स्थल आलितालको अवलोकन भ्रमण गरेका छन्।

बिहीवार आलिताल गाउँपालिका-३ मा अवस्थित आलितालको अवलोकनका क्रममा प्रदेश प्रमुखद्वयलाई गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बोहरा, वडा नम्बर ३ का अध्यक्ष बलबहादुर बुढा मगरलगायतले स्वागत गर्दै तालको विशेषताबारे जानकारी गराए।
त्यसअघि, गाउँपालिकाले प्रदेश प्रमुखद्वयलाई आफ्नो कार्यालयमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। गाउँपालिका अध्यक्ष पार्की र उपाध्यक्ष रावल बोहराले पहिलो पटक प्रदेश प्रमुखहरू आफ्नो क्षेत्रमा आगमन गरेकोमा हर्ष व्यक्त गर्दै गाउँपालिकाको परिचय गराएका थिए।




सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले आफू पहिलो पटक यस क्षेत्रमा आएको अनुभव सुनाउँदै सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यको प्रशंसा गरे। उनले भित्री मधेशको रमणीय भौगोलिक अवस्था उल्लेख गर्दै प्राकृतिक स्रोत साधनको उचित उपयोगबाट समृद्धि हासिल गर्न सकिने धारणा राखे।
गण्डकी प्रदेश प्रमुख भट्टले पारिवारिक भेटघाटको अवसरसँगै आलितालका जनप्रतिनिधिहरूसँग भेटघाट गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले आफ्नो बाल्यकाल आलिताल-३ चौडकैमा वितेको स्मरण गर्दै यस भेगसँग गहिरो सम्बन्ध रहेको बताए। साथै, उनले पूर्वाधार तथा सेवा सुविधाहरूमा उल्लेखनीय सुधार भएकोमा सन्तोष व्यक्त गरे।
पालिकाका अध्यक्ष पार्कीले आलितालको प्रमुख समस्या पुल निर्माण रहेको उल्लेख गर्दै हालसम्म बजेटको सुनिश्चितता नभएको गुनासो गरे।
प्रदेश प्रमुखद्वयलाई आलिताल-४ स्थित घरेलु क्षेत्रमा पनि स्वागत गरिएको थियो। वडाध्यक्ष कमल बोहरालगायत स्थानीय जनप्रतिनिधि, बासिन्दा तथा विद्यार्थीहरूले न्यानो स्वागत गरेका थिए। कार्यक्रममा प्रदेश प्रमुखहरूले वडा तथा पालिकाका माग र समस्याबारे मनन गर्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस भ्रमणका क्रममा प्रदेश प्रमुखद्वय डडेल्धुरा जाने क्रममा कैलालीको चुरे-६ फल्टुडे र डोटीको बुडर पिपलचौतारीमा समेत स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट तथा स्वागत कार्यक्रममा सहभागी भए। गण्डकी प्रदेश प्रमुख भट्ट हाल गृहजिल्ला कैलालीमा रहेका छन्।


































