
नेकपा (एकीकृत समाजवादी) का नेता एवं डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले डोटीको बानीडुग्रीसैनको पुल निर्माण कार्य तत्काल सुरु गराउन माग गरेका छन्।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद आलेले शिखर नगरपालिका बानीडुग्रीसैन–सातनाली जोड्नका लागि सेती नदीमा निर्माण गरिनुपर्ने उक्त पुलको ठेक्का दश वर्षअघि लगाइए पनि हालसम्म निर्माण सम्पन्न नभएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सभामुखमार्फत सम्बन्धित मन्त्रालयलाई पुल निर्माण कार्य शीघ्र अघि बढाउन आग्रह गरे।
सांसद आलेले भने, “पुल निर्माणका लागि करिब दश वर्ष पहिले ठेक्का लगाइएको थियो, तर हालसम्म जम्मा २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ठेकेदारले काम नगरेका कारण स्थानीयवासीले लामो समयदेखि प्रतीक्षा गर्नुपरेको छ। म यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँछु।”
उनका अनुसार उक्त पुल निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। तर, ठेकेदारको निष्क्रियता र लापरबाहीका कारण पुलको काम अलपत्र परेको छ। यसले स्थानीय जनतालाई निकै समस्या परिरहेको भन्दै सांसद आलेले यथाशीघ्र निर्माण कार्य अघि बढाउन जोड दिए।
स्थानीयवासीले पुल निर्माणको ढिलाइका कारण लामो समयदेखि कठिनाइ झेल्नुपरेको बताए। सांसद आलेले सरकारलाई आवश्यक पहल गर्न आग्रह गर्दै ठेकेदारलाई कार्यसम्पादनमा दबाब दिनु पर्ने आवश्यकता औंल्याएका छन्।





























