
पाटन उच्च अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको छ। पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपालको शैली, हाउभाउ र लवज बिना अनुमति प्रयोग गरिएको भन्दै रिट दायर गरेका थिए। चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै अदालतले फिल्मको विज्ञापन, पोस्टर तथा प्रचार सामग्रीहरू सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अदालतको आदेशमा उल्लेख छ, “निवेदकको संवैधानिक तथा कानूनी अधिकारमा आघात पुगेको देखिएकाले केन्द्रीय चलचित्र जाँच समितिले अनुमतिपूर्व नै रोक्न सक्ने अवस्था छ। सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार नगर्नू/नगराउनु।”




अदालतले विपक्षी पक्षलाई आदेशको जानकारी गराउन समेत निर्देशन दिएको छ।


































