
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले मौसममा परिवर्तन देखिएको छ। गण्डकी, बागमती, कोशी, लुम्बिनी, कर्णाली, तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही तराई क्षेत्रहरूमा हुस्सु लागेको छ।

गण्डकी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनसक्छ।

रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले चट्याङ्ग, वर्षा तथा हिमपातको सम्भावना भएकाले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

















