
लामो समयपछि जिल्ला अस्पताल बैतडीमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ चिकित्सक हाजिर भएका छन्। अस्पताल प्रमुख डा. सुशील विकका अनुसार डा. रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएका छन्। यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा. निश्चल ज्ञवाली पनि अस्पतालमा कार्यरत भएका छन्। मंगलबार एक कार्यक्रमका बीच उनीहरूलाई स्वागत गरिएको थियो।

डा. यादवको उपस्थितिसँगै महिलाहरूलाई आवश्यक उपचार सहज हुने अस्पताल प्रमुख विकले बताए। सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा. यादवलाई छनोट गरी पठाएको हो। मेडिकल अधिकृत डा. ज्ञवाली छात्रवृत्ति करारअन्तर्गत अस्पतालमा आएका हुन्।

हाल जिल्ला अस्पताल बैतडीमा २ जना विशेषज्ञ चिकित्सक, १ जना दन्त रोग विशेषज्ञ, ६ जना मेडिकल अधिकृतसहित ९ जना चिकित्सक कार्यरत छन्। स्त्री तथा प्रसूती रोग विशेषज्ञ नहुँदा प्रभावित भएका सेवा पुनः सञ्चालनमा आएका छन्।



















