
वासिङ्टन/किभ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँगको विवादपछि युक्रेनलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेका छन्। किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहायता रोक्ने ट्रम्प प्रशासनको निर्णय रहेको ब्लुमबर्ग र फक्स न्युज ले उल्लेख गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा जेलेन्स्कीले युद्ध चाहेको टिप्पणी गरेपछि सहयोग रोक्ने निर्णय आएको बताइएको छ। फक्स न्युजका अनुसार, ट्रम्प प्रशासनले यसलाई “अस्थायी निर्णय” भनेको छ र वार्ताको वातावरण बनेमा सहयोग पुनः सुरु हुन सक्ने जनाएको छ।
यसैबीच, अमेरिकी सहयोग रोकिएपछि जेलेन्स्कीले युरोपियन नेताहरूसँग सहकार्यलाई तीव्र पारेका छन्। ट्रम्पसँगको तनावपूर्ण वार्ताको २४ घण्टा नबित्दै उनले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँग भेट गरेका छन्।


स्टेइमर र जेलेन्स्कीको छलफलपछि बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। साथै, बेलायती प्रधानमन्त्रीले हतियार खरिदका लागि थप २ अर्ब डलर सहायता दिने घोषणा गरेका छन्।
युक्रेनलाई मद्दत गर्न युरोपेली देशहरू पनि सक्रिय बनेका छन्। शीर्ष नेताहरूको बैठकपछि युरोपका १८ देशले युक्रेनको रक्षा गर्न नयाँ गठबन्धन बनाउने निर्णय गरेका छन्, जसमा अमेरिकालाई समेत समेट्ने योजना रहेको जनाइएको छ।
































