
साउदी अरेबियामा अमेरिकासँग भएको वार्तापछि युक्रेनले रुससँग ३० दिनको युद्ध विराम गर्ने सहमति जनाएको छ।

युक्रेन जल, जमिन र हवाई युद्ध रोक्न तयार भएको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका उपप्रमुखका अनुसार, अमेरिकाले युक्रेनलाई पुनः सैन्य सहायता निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
अमेरिकी विदेशमन्त्रीले “अब निर्णय लिने जिम्मेवारी रुसको कोर्टमा छ” भनेका छन्। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई फेरि ह्वाइट हाउसमा आमन्त्रण गर्ने संकेत दिएका छन्। वार्तामा राष्ट्रपति जेलेन्स्कीको प्रतिनिधित्व आन्द्रे यारमाकले गरेका थिए।


वार्तापछि राष्ट्रपति जेलेन्स्कीले पोस्ट गरेको भिडियोमा तीन प्रमुख विषय समेटिएका छन्— आकाश, जल र जमिनमा शान्ति, बन्दीको रिहाइ, तथा अपहरण गरिएका युक्रेनी बालबालिकाको उद्धार। पहिलो चरणमा ३० दिनको युद्ध विराम सफल भएमा अर्को चरणका लागि पनि वार्ता गर्न युक्रेन तयार रहेको उनले बताएका छन्।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्क रुबियोले ८ घण्टा लामो वार्ता खनिज सम्झौतासँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन्।





























