
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया छलपूर्ण रहेको बताएका छन्। साथै, उनले शान्ति सम्झौताका लागि रुसमाथि थप प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।

दैनिक सम्बोधनका क्रममा जेलेन्स्कीले पुटिनको पूर्व शर्तले युद्धविराम सम्भव नहुने बताएका छन्। उनले रुसले जानाजानी ढिलाइ गरिरहेको आरोप लगाउँदै युद्धविराम केवल अस्थायी समाधान नभई हालको संकटको मूल कारण अन्त्य गर्ने दिशामा हुनु आवश्यक रहेको उल्लेख गरे।

यसअघि, पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति पुटिनले युद्धविरामको अवधारणालाई समर्थन गर्ने संकेत गरेका थिए। तर, उनले यसबारे गहन छलफल आवश्यक रहेको बताउँदै कयौं कठिन शर्तहरू अघि सारेका छन्।

जेलेन्स्कीले रुसको यस्ता शर्तहरू शान्ति वार्ताका लागि बाधक हुने र निष्पक्ष समाधानको खोजी गर्नुपर्ने धारणा राखेका छन्।































