बैतडीको दोगडाकेदार गाउँपालिकाले गर्भवती तथा सुत्केरी आमाहरुलाई उपाध्यक्षको कोसेली वितरण

Image
Nisarga Hospital

बैतडीको दोगडाकेदार गाउँपालिकाले गर्भवती तथा सुत्केरी आमाहरुलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण सुरु गरेको छ। स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार यो वर्ष उपाध्यक्षको कोसेलीमा आमाहरुलाई तरकारीको बीउ वितरण गरिएको छ।

CP Hospital Dhangadhi

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले गर्भवती तथा सुत्केरी आमाहरुलाई ताजा तरकारी उत्पादनमा प्रोत्साहित गर्न कोसेलीमा बीउ समावेश गरिएको बताइन्। उनका अनुसार कोसेलीमा सात प्रकारका तरकारीको बीउ प्याकेट राखिएको छ।

गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रमले आमाहरुलाई ताजा तथा पोषणयुक्त तरकारी उपभोग गर्न प्रेरित गर्ने उद्देश्य राखेको उपाध्यक्ष कार्कीले जानकारी दिइन्। स्वास्थ्य शाखा प्रमुख नाथले कोसेलीमा मूला, काक्रो, बोटे फर्सी, बोडी, घिरौला, भिण्डी लगायतका तरकारीको बीउ समावेश गरिएको बताए।

nawajiwan
Attariya Hospital

गर्भवती तथा सुत्केरी आमाहरुका लागि पोषिलो आहार आवश्यक पर्ने भएकाले ताजा तरकारीको पोषण तत्व सहज रूपमा प्राप्त गराउन बीउ वितरण कार्यक्रमलाई निरन्तरता दिइएको नाथले बताए।

यस वर्ष गाउँपालिकाभर ३६० जना गर्भवती तथा सुत्केरी आमाहरुलाई कोसेली वितरण गर्ने लक्ष्य राखिएको छ। हालसम्म सित्तड, न्वाली र श्रीकोट स्वास्थ्यचौकीमार्फत कोसेली वितरण भइसकेको छ।