
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस, पुनर्वासको जनता बहुमुखी क्याम्पस, कलकत्तास्थित रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो।

अन्तिम नतिजा अनुसार चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ भने दुई क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित हात पारेका छन्।
विजयी उम्मेदवारहरू

- जनता बहुमुखी क्याम्पस, पुनर्वास: नेविसंघका विकास खड्का प्यानलसहित विजयी।
- रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलडाँडी: नेविसंघका मोहन जैसी विजयी।
- भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनी: नेविसंघका सुवास नेगी प्यानलसहित विजयी।
- कञ्चन बहुमुखी क्याम्पस, गुलरिया: नेविसंघका सुनिल ऐर विजयी।
- रामपुर बहुमुखी क्याम्पस, बेलौरी: अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित निर्वाचित।
- महाकाली बहुमुखी क्याम्पस, बेलौरी: अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित।
केही क्याम्पसहरूले स्ववियु निर्वाचनको प्रक्रिया नै अगाडि बढाउन सकेनन् भने कतिपयमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका थिए। निर्वाचन सम्पन्न भएका क्याम्पसहरूमा मतगणना सकिएपछि आधिकारिक रूपमा विजयी उम्मेदवारहरूको घोषणा गरिएको क्याम्पस प्रशासनहरूले जनाएका छन्। निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

यसअघि कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, झलारी र दानेश्वर बहुमुखी क्याम्पसमा निर्विरोध रूपमा स्ववियु चयन भएको थियो। झलारीस्थित कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको सभापतित्वमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धन भएको थियो। त्यस्तै, दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध निर्वाचित भएको थियो।
त्रिवि अन्तर्गत कञ्चनपुरका सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, जनज्योति, घटाल, उदय सरस्वती, वारिधी, बालजागृति लगायत सात क्याम्पसमा निर्वाचन हुन सकेन।
गुलरियामा नेविसंघ र अनेरास्ववियुबीच झडप
गुलरियास्थित कञ्चन बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा मतगणना स्थगित भएको छ। साँझ नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबीचको विवाद झडपमा परिणत भएपछि मतगणना रोकिएको हो। नेकपा एमाले कृष्णपुरका अध्यक्ष कुबेर खडकाले नेपाली कांग्रेस निकट विद्यार्थीहरूले मदिरा सेवन गरी प्रहरीको आडमा पार्टी कार्यालय तोडफोड गरेको तथा उम्मेदवार राजेन्द्र खडकामाथि कुटपिट गरेको आरोप लगाएका छन्।
यता, नेपाली कांग्रेसका नेता लेखराज भट्टले एमालेभित्रको आन्तरिक गुटबन्दीका कारण नेविसंघमाथि आरोप लगाइएको दाबी गरेका छन्। उनका अनुसार १६ मत गणना बाँकी रहँदा अनेरास्ववियु पराजय निश्चित भएपछि विवाद सिर्जना गरिएको हो।
कञ्चन बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। कुल ३९४ मतदाता मध्ये ३३४ मत खसेको थियो। प्रमुख दल निकट विद्यार्थी संगठनहरूबीच झडप भएपछि अन्य विद्यार्थी संगठनहरू भने निराश भएका छन्।






























