
बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ। प्रारम्भमा किसानबाट १० टन आलु खरिद गरी भण्डारण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष भट्टले जानकारी दिए।

गाउँपालिकाले बजार मूल्यभन्दा बढी दरमा किसानबाट प्रतिकिलो ५५ रुपैयाँमा आलु खरिद गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा एक करोड रुपैयाँको लागतमा शीतभण्डार निर्माण गरिएको हो।

यसअघि गाउँपालिकाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको थियो। उत्पादन भएको तरकारी, फलफूल तथा अन्य कृषि उपज भण्डारण गरी बजारमा उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले शीतभण्डार निर्माण गरिएको प्रमुख भट्टले बताए। दोगडाकेदार आलु र सुन्तलाको पकेट क्षेत्र भएकाले यसले किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।































