डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्न माग

Image
Nisarga Hospital

अत्तरिया : डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मागपत्र बुझाइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र नेकपा (एमाले) सहितका नेताहरुको प्रतिनिधिमण्डले क्याम्पसको आवश्यक भौतिक पूर्वाधार निर्माणसहित अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट निर्माणमा प्राथमिकता दिन आग्रह गरेका हुन् ।

CP Hospital Dhangadhi

मागपत्र बुझाउन पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्यहरु गौरी वली र भरतबहादुर खड्का, सुदुरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, नेकपा ९एमाले० का जिल्ला अध्यक्ष मञ्जु मलासीलगायतले बालुवाटार पुगेका थिए ।

दिपायल सिलगढी नगरपालिका–६, थाप्लामा त्रिभुवन विश्वविद्यालयको मातहतमा डोटी प्राविधिक आङ्गिक क्याम्पसका रुपमा सञ्चालन हुने तयारी भए पनि जनशक्ति र बजेटको अभावमा काम अघि नबढेकाले प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा ध्यानाकर्षण गराएका हुन् ।

nawajiwan
Attariya Hospital

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकसहित उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटलाई सन्तुलित, व्यवस्थित र प्रभावकारी कार्यान्वयनमुखी बनाउन छलफल भइरहेको भन्दै गौरवपूर्ण इतिहास बोकेको डोटी विकासमा पछाडि परेको विषयमा आफू जानकार रहेकाले अब प्राथमिकतामा पर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले थालेका काम पूरा गर्ने र बजेट विनियोजन गर्दा स्रोत सुनिश्चितता गरेर मात्रै गर्न लागिएको उल्लेख गर्दै खप्तड इञ्जिनियरिङ क्याम्पस पूर्वाधार निर्माण गर्दा छात्रावास अनिवार्य बनाउन सकिए टाढा टाढाका विद्यार्थी त्यहीँ बसेर पढ्न सक्ने बताए ।