
माया मेट्रो अस्पताल धनगढीले बान्नीगढी जयगढ गाउँपालिकामा हालै भएको आगलागी पीडित परिवारलाई राहतस्वरूप एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

उक्त सहयोग रकम अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद स्वयं जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।


आगलागीबाट पीडित परिवारले भोग्नुपरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साउँदले विपद्को समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
“मेरो पनि घर अछाममै हो, आफ्नो गृहजिल्लामा यस्तो विपत्ति आइपर्दा चुप लाग्न सकिँदैन,” उनले भने, “हाललाई अस्पतालको तर्फबाट राहत रकम प्रदान गरेका छौं। आगामी दिनमा पीडितको स्वास्थ्य उपचार लगायतका क्षेत्रमा समेत सक्दो सहयोग गर्नेछौं।”






























