
कञ्चनपुर: कृष्णपुर नगरपालिकाले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न ऐतिहासिक कदम चालेको छ। अबदेखि नगरभित्रका जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा उनीहरूका सन्तानले अनिवार्यरूपमा सामुदायिक विद्यालयमै अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ।


नगरपालिकाको २०८१ पुस २८ गते सम्पन्न नगरसभाले उक्त निर्णय पारित गरेको हो। निर्णय अनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूका छोराछोरी, नातिनातिनी तथा उनीहरूसँगै बस्ने बालबालिकाहरूले निजी विद्यालयमा पढ्न नपाउने व्यवस्था लागू हुनेछ।
साथै, अबदेखि निजी विद्यालयका व्यवस्थापन समिति सदस्य, शिक्षक, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरू सामुदायिक विद्यालयको कुनै पनि प्रशासनिक वा व्यवस्थापकीय जिम्मेवारीमा रहने अयोग्य ठहरिनेछन्।
नगरपालिकाका अनुसार यस निर्णयको उद्देश्य सामुदायिक विद्यालयप्रतिको जनविश्वास अभिवृद्धि गर्नुका साथै अभिभावक, शिक्षक र प्रशासनबीचको समन्वय मजबुत बनाउनु हो। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सहभागितामूलक र उत्तरदायित्वयुक्त वातावरण निर्माण आवश्यक भएको भन्दै पालिकाले यस्तो पहल अघि सारेको हो।





























