
अछाम: केही दिनअघि अछाम जिल्लाको बान्निगड जयगड बजारमा भएको भीषण आगलागीबाट पीडित भएका स्थानीय बासिन्दालाई राहत वितरण गरिएको छ। विभिन्न देशबाट प्राप्त सहयोग सामग्रीहरू सामाजिक अभियन्ता लक्ष्मी बोगटीको पहलमा पीडितको हातमै पु¥याइएको हो।

राहत सामग्रीमा त्रिपाल, डसिना, बलाङ्केट, बाल्टिन तथा केही नगद रकम समेटिएका थिए। बोगटीले उक्त सामग्रीहरू प्रत्यक्षरूपमा पीडितलाई वितरण गर्दै सहयोगी दाताहरूप्रति आभार प्रकट गरेकी छन्।

“सहयोगी दाताहरूको सहयोगले पीडितहरूलाई तत्काल राहत मिलेको छ,” बोगटीले भनिन्, “उहाँहरू सबैलाई दिलदेखि धन्यवाद छ।”

सहयोगमा सहभागी सबै दाताहरूलाई नमन गर्दै बोगटीले आगामी दिनहरूमा पनि यस्तै मानवीय सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

स्थानीय प्रशासनले समेत बोगटीको यो पहलको प्रशंसा गरेको छ। आगलागीले घरबार गुमाएका पीडितहरू अहिले राहत सामग्रीले केही सहज महशुस गरिरहेका छन्।































