
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार कञ्चनपुर पुगेका छन्। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ अन्तर्गत उनी हुलाकी राजमार्ग केन्द्रित कार्यक्रमहरूमार्फत सहभागी भइरहेका छन्।

बिहान पुनर्वासमा सहिद परिवारसँग भेटघाट र अन्तरक्रियामा सहभागी भएका प्रचण्डले बेलौरीस्थित रामनगर खानेपानी आयोजना उद्घाटन गरेका छन्। त्यसपछि शोभातालस्थित सहिद स्मारकमा माल्यार्पण र शोभाताल क्षेत्रको अवलोकन गरेका छन्।

बेलौरी नगरपालिकाको सभाहलमा आयोजित विशेष स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएपछि उनले कलकत्ता हाटबजारको अवलोकन र बेलडाँडीमा कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

बेलुकी महेन्द्रनगरस्थित संविधान चोक स्मारकमा पुगेर ‘हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी’ अभियानको समापन कार्यक्रम आयोजना हुनेछ। उक्त अभियान माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको थियो।




























