
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणको क्रममा जलविद्युत्, पूर्वाधार, सीप विकास र लगानी प्रवर्द्धनसम्बन्धी विषयमा भारतीय पक्षसँग उच्चस्तरीय छलफलमा जुटेका छन्।

दिल्लीमा भारतको जलविद्युत् विकास संगठन (एनएचपीसी लिमिटेड) का अधिकारीसँग भएको छलफलमा पश्चिम सेती, पञ्चेश्वर, बेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णाली जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनबारे विचारविमर्श भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
मुख्यमन्त्रीको टोलीले भारतको ‘नेशनल स्किल डेभलपमेन्ट कर्पोरेशन’ सँग डिजिटलमैत्री सीप विकास र जनशक्ति आत्मनिर्भर बनाउने विषयमा छलफल गरेको छ। त्यसैगरी, कृषि अनुसन्धान केन्द्रसँगको भेटमा नेपालमा आधुनिक कृषि प्रविधि भित्र्याउने विषयमा कुराकानी गरिएको थियो।


मुख्यमन्त्री शाहले भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंहसँगको भेटमा दार्चुला र बैतडीको पुल निर्माण, टनकपुर–ब्रह्मदेव ब्यारेजको सहज आवागमन र तिकुनिया–खक्रौला सडक निर्माण छिटो गर्न आग्रह गरेका थिए।
दिल्लीस्थित उद्योगपतिहरूसँगको भेटमा उनले सुदूरपश्चिम प्रदेशमा आयोजना गरिने लगानी सम्मेलनबारे जानकारी गराएका थिए। भ्रमणका क्रममा मुख्यमन्त्रीले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली पनि अर्पण गरेका छन्।
शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि भारतको एक साताको औपचारिक भ्रमणमा रहेको छ।






























