
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बैवाहाका किसान खडकबहादुर चौधरीले विगत पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आइरहेका छन्। वर्णशङ्कर (हाइब्रिड) १२०८ जातको मकै खेती गरेर उनले पाँच कट्ठा जमिनबाट चार महिनामै ३० हजारदेखि ७० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। एकै बोटमा तीनदेखि चारवटा घोगा लाग्ने यस जातको मकैले परम्परागत उन्नत जातको भन्दा २५–३० प्रतिशत बढी उत्पादन दिन्छ।

हरियो मकै खेतबारीमै प्रतिघोगा १० देखि १५ रुपैयाँसम्म बिक्री हुने गरेको छ। पाकेको मकै पछि बिक्री गरिन्छ भने डाँठलाई भने काटेर बाख्रा, बङ्गुर, भैँसीका लागि चारोका रूपमा प्रयोग गरिन्छ। बैवाहाका १५ बढी किसानले चारदेखि सात कट्ठासम्म जग्गामा वसन्ते मकैखेती गरिरहेका छन्।

छोटो अवधिमा उत्पादन हुने भएकाले मकैपछि धान रोप्ने प्रणाली यहाँका किसानको आम अभ्यास बनिसकेको छ। विभिन्न किसानले अरुण–२, अरुण–६, १२८० जस्ता जातको मकै प्रयोग गर्दै आएका छन्। वसन्ते मकैखेतीसँगै अधिकांश किसानले १० देखि २२ वटा बाख्रासमेत पालेका छन्।

सिँचाइ र बाख्रापालनका लागि किसानले सहकारी संस्थाबाट ऋण लिएका छन्, र धेरैले खसी/बोका बिक्री गरेर ऋण तिरेका छन्। गोडमेल, मलखाद र कीरा नियन्त्रणमा प्राविधिक सल्लाह लिँदै किसानले मकैखेतीमा थप लगानी गर्न थालेका छन्। मकैखेतीको सफलताले उनीहरूमा उत्साह थपिएको छ।




















