दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि रुख कटान सुरु

Image
Nisarga Hospital

दोधारा चाँदनी नगरपालिका–१ मा निर्माण हुन लागेको सुक्खा बन्दरगाहका लागि मायापुरी सामुदायिक वनमा रुख कटानको काम सुरु गरिएको छ। इन्टरमोडल यातायात विकास समितिले ठेक्का प्रक्रियामार्फत गत सातादेखि रुख कटान अघि बढाएको हो।

CP Hospital Dhangadhi

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार दुई महिनाभित्र रुख कटान सक्ने लक्ष्यसहित काम भइरहेको छ। “भारतले पनि ठेक्का प्रक्रियामै रहेको जनाएको छ,” गजुरेलले भने, “त्यहाँ प्रक्रिया सकिँदा हामीले पनि जमिन खाली गरिसक्नेछौं।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनमा कटान कार्य निकुञ्ज प्रशासनको रोहबरमा भइरहेको छ। समितिका इन्जिनियर अनिश केसीले सुरुमा निकुञ्जका कर्मचारीको सरुवा हुँदा केही ढिलाइ भएको बताए।

nawajiwan

रुख कटानका लागि ४० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो। सम्झौता अनुसार मायापुरी सामुदायिक वनमा १,५९३ वटा रुख काटिनेछ। सुक्खा बन्दरगाहसँगै नेपाल–भारत दुवैतर्फ पहुँचमार्ग र अन्य पूर्वाधारको निर्माण कार्य पनि अगाडि बढाइएको छ।

Attariya Hospital

नेपालतर्फ महाकाली नदीमा चार लेनको पक्की पुल र गड्डाचौकीदेखि मलेरिया नालासम्म ६ लेनको पहुँचमार्ग निर्माण भइसकेको छ। भारततर्फ पनि राष्ट्रिय राजमार्गको चक्करपुर क्षेत्रबाट सिधा पहुँचमार्ग निर्माणाधीन अवस्थामा रहेको गजुरेलले जानकारी दिए।

भारत सरकारको लगानीमा बन्ने बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रशासनिक भवन, गोदाम, भन्सार, क्वारेन्टिन घर, सुरक्षा संरचना र लोड अनलोड सेड निर्माण हुनेछन्। सम्झौता अनुसार तीन वर्षभित्र बन्दरगाह निर्माण सकिनेछ, जसका लागि झन्डै ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।

सुरुमा नेपाल सरकारले सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी (आईसीपी) र विशेष आर्थिक क्षेत्र निर्माण गर्ने योजना बनाएको थियो। त्यसअनुसार मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब ३०० बिघा जमिन आवश्यक पर्ने देखिएको थियो। तर अहिले विशेष आर्थिक क्षेत्रको योजना स्थगित भएकाले आईसीपी निर्माणका लागि मात्र २५ हेक्टर जमिन प्रयोग हुने भएको छ।

Advertize US