शुक्लाफाँटामा कृष्णसारको संख्या ३ सय नाघ्यो, व्यवस्थापनमा चुनौती बढ्दो

Image
Nisarga Hospital

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा एक दशकअघि स्थानान्तरण गरिएका कृष्णसारको संख्या ३ सय नाघेको छ। बर्दिया र नेपालगञ्जबाट सन् २०१२ र २०१५ मा ल्याइएका ४२ वटा कृष्णसारको संख्या बढेर अहिले ३०६ पुगेको हो। संख्या वृद्धिसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

CP Hospital Dhangadhi

निकुञ्जका अनुसार हाल हिरापुर फाँटामा करिब ६० वर्गकिलोमिटर क्षेत्र तारबारले घेरिएको छ, जहाँ कृष्णसारलाई सुरक्षित रूपमा राखिएको छ। त्यही क्षेत्रमा उनीहरूलाई आहारको व्यवस्था पनि गरिएको छ।

निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार घेरबारभित्र लामो समयसम्म राखिरहन सम्भव छैन। “अब निकुञ्जकै अन्य घाँसे मैदानमा खुला रूपमा छाड्ने वा अन्यत्र स्थानान्तरण गर्नेबारे अध्ययन भइरहेको छ,” उनले भने।

nawajiwan
Attariya Hospital

हालको तथ्यांकअनुसार ३०६ मध्ये १४४ पोथी, ११७ भाले र ४५ पाठापाठी छन्। सुरुवाती वर्षहरूमा जुकाको प्रकोप र भालाहरूको आपसी झगडाले मृत्युदर उच्च हुँदा वृद्धिदर निकै कम थियो। तर हालै भने संख्या तीव्र रूपमा बढेको छ, जसले संरक्षणकर्मीलाई उत्साहित त बनाएको छ, तर व्यवस्थापन थप चुनौतीपूर्ण बनाएको छ।

संरक्षण विभाग र निकुञ्जले अब केही कृष्णसारलाई निकुञ्जभित्रैका अन्य घाँसे मैदान वा खुला बासस्थानमा छाड्ने, केहीलाई बर्निखेडा क्षेत्रमा स्थानान्तरण गर्ने, वा चितवनजस्ता क्षेत्रमा नयाँ इन्क्लोजरमा सार्ने विकल्पमा छलफल गरिरहेका छन्।

विभागका उपमहानिर्देशक बेदकुमार ढकालका अनुसार हाल आर्थिक स्रोतको अभावका कारण तत्काल स्थानान्तरण वा विस्तृत अध्ययन गर्न कठिन छ। तर, निकुञ्जको आगामी पञ्चवर्षीय योजनामा कृष्णसार व्यवस्थापनलाई समावेश गरिएको छ।