
आज वैशाख शुक्ल एकादशी, अर्थात् मोहिनी एकादशी। सनातन धर्मावलम्बीहरूले दुःख, मोह र संसारिक बन्धनबाट मुक्तिका लागि यो एकादशीको व्रत गरिरहेका छन्।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार, मोहिनी एकादशीको व्रतले मोहजालबाट छुटकारा दिलाउने र आध्यात्मिक शुद्धि प्रदान गर्ने विश्वास गरिन्छ।
शास्त्रीय परम्पराअनुसार, वर्षभरमा २४ वटा एकादशी पर्ने गर्छन्—हरेक महिनामा शुक्ल र कृष्ण पक्षमा गरी दुई पटक। एकादशी भगवान् विष्णु वा नारायणसँग सम्बन्धित प्रमुख तिथि हो।


यस दिन व्रतालुहरू प्रायः अन्न त्याग गर्ने, बेलुकी एक छाक रोटी सेवन गर्ने, तथा दुई दल भएका परिकारहरू नखाने नियम पालना गर्छन्। वैष्णव परम्परा नमान्नेहरूले पनि यो दिन मांसाहार त्याग गर्ने चलन छ।
एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा, विष्णु सहस्रनाम वा माहात्म्य पाठ, ध्यान र भजनकीर्तन जस्ता धार्मिक कार्यहरू गरिन्छ।





























