
भारतको रक्षा मन्त्रालयले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ नाम दिइएको सैन्य कारबाही अन्तर्गत लाहोरमा रहेको हवाई सुरक्षा प्रणालीलाई निष्क्रिय बनाएको दाबी गरेको छ।


मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस वक्तव्यअनुसार, मे ७ मा भारतले पाकिस्तानका विभिन्न वायु रक्षा संरचनाहरूलाई लक्षित गरी आक्रमण गरेको थियो। वक्तव्यमा उल्लेख छ, “लाहोरको हवाई सुरक्षा प्रणाली अक्रियाशील पारिएको पुष्टि विश्वसनीय स्रोतहरूबाट प्राप्त भएको छ।”
भारतले सैन्य आधारशिविरहरूमा हुने कुनै पनि आक्रमणको सशक्त प्रत्युत्तर दिने चेतावनी पनि दिएको छ। साथै, पाकिस्तानले उत्तर–पश्चिमी सीमावर्ती क्षेत्रमा ड्रोन तथा क्षेप्यास्त्र मार्फत आक्रमण प्रयास गरेको तर भारतको समन्वित सुरक्षा संरचनाले ती प्रयासहरू विफल बनाएको मन्त्रालयको भनाइ छ।
भारतले द्वन्द्व चर्काउने मनसाय नराखेको तर सुरक्षा खतरा भए कडा जवाफ दिने आफ्नो नीति दोहोर्याएको छ।
पाकिस्तानको जवाफ: इजरायली ड्रोन खसालेको दाबी
पाकिस्तानी सेनाले भने भारतले प्रयोग गरेको २५ वटा इजरायली बनोटका ‘ह्यारोप’ ड्रोनलाई खसालिएको दाबी गरेको छ। सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार, पाकिस्तानले प्राविधिक क्षमताको प्रयोग गर्दै ती ड्रोनहरू निष्क्रिय बनाएको हो।
आईएसपीआरको वक्तव्यमा भनिएको छ, “मे ६ को रात भारतमा गरिएको जवाफी कारबाहीमा पाँच लडाकु विमान, केही सैन्य उपकरण र दर्जनौं ड्रोन ध्वस्त पारिएको छ, जसपछि भारत तनावमा देखिएको छ।”
































