
बाजुराको बडिमालिका क्याम्पसका प्राध्यापक नरेन्द्र थापा मृत अवस्थामा फेला परेका छन्।

बुधवार साँझ उनी बडिमालिका नगरपालिका–४ स्थित साफे–मार्तडी सडक खण्डको छेउमा रहेको नालीमा घोप्टो परेको अवस्थामा भेटिएका हुन्। बुढीगंगा नगरपालिका–६, सायल घर भएका ३८ वर्षीय थापा बिहान नियमित कक्षा लिन क्याम्पस गएका थिए। साँझ करिब साढे ६ बजे क्याम्पसदेखि करिब ५०० मिटर दूरीमा उनको शव फेला परेको हो।
शवको अवस्थाबाट उनीमाथि हमला भएको आशंका गरिएको छ। थापाको दुवै आँखा गहिरो चोटसहित फूटेको, टाउको र अनुहारमा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ।


स्थानीयहरू शवको अवस्था देखेर स्तब्ध छन्। थापा घरपरिवारबाट टाढा, एक्लै बस्दै आएका थिए। उनकी श्रीमती स्वामीकार्तिक खापर गाउँपालिकामा शिक्षिका हुन्। एक छोरा र एक छोरीका पिता थापा सरल स्वभावका, अध्यापनप्रति समर्पित व्यक्तिका रूपमा चिनिन्थे।
घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। थप अनुसन्धानका लागि बिहीबार बिहान उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।



















