
भारतीय सरकारले पाकिस्तानले सयौं ड्रोनमार्फत आफ्ना सैन्य पूर्वाधारहरूमा हमला गरेको दाबी गरेको छ। शुक्रबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयले उक्त जानकारी दिएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार राति पाकिस्तानी सेनाले भारतका विभिन्न सैन्य स्थानहरूमा लक्षित गर्दै ड्रोन हमला प्रयास गरेको थियो। सेनाकी कर्णेल सोफिया कुरैशीलाई उद्धृत गर्दै जनाइएअनुसार लेहदेखि सरक्रिकसम्मका करिब ३६ स्थानमा ३०० देखि ४०० ड्रोन पठाइएको थियो।
कर्णेल कुरैशीका अनुसार, “भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक उपायमार्फत तीमध्ये धेरै ड्रोनहरू खसाल्न सफल भएका छन्।”

भारतले पाकिस्तानमाथि वायु रक्षा प्रणाली परीक्षण गर्न र गुप्तचर जानकारी संकलन गर्न ड्रोन प्रयोग गरेको आरोप लगाएको छ।

भारतीय सेनाले घटनास्थलमा फेला परेका ड्रोनको भग्नावशेषको फोरेन्सिक परीक्षण भइरहेको जानकारी दिएको छ। प्रारम्भिक अनुमानअनुसार ती ड्रोनहरू टर्कीमा निर्मित भएको भारतले आशंका गरेको छ।
कर्णेल कुरैशीले भारत–पाक सीमा क्षेत्रमा हाल ठूलो गोलाबारी भइरहेको पनि बताइन्। “यस गोलाबारीमा केही भारतीय सैनिक मारिएका छन् भने भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ,” उनले दाबी गरिन्।
यद्यपि, उनले घाइते वा मारिएका भारतीय सैनिकहरूको संख्याबारे जानकारी दिइनन्।
पाकिस्तानी पक्षले भने भारतको दाबीलाई अस्वीकार गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले एक प्रतिक्रिया दिँदै भने, “हामीले अहिलेसम्म कुनै आक्रमण गरेका छैनौं। जब पाकिस्तानले आक्रमण गर्छ, त्यसबारे सबैलाई थाहा हुनेछ।”



















