भारत–पाकिस्तान तनावको चपेटामा नेपाली विद्यार्थी: लाहोरदेखि हिमाञ्चलसम्म त्रास, नेपाल फर्कन याचना

Image
Nisarga Hospital

भारत–पाकिस्तानबीच चर्किएको सैन्य तनावको प्रभाव पाकिस्तान र भारतमा रहेका नेपाली विद्यार्थीहरूमा गम्भीर रुपमा परेको छ। लाहोर, कराँची, फैसलावादलगायतका पाकिस्तानी शहरहरूमा रहेका करिब २०० नेपाली विद्यार्थीहरू त्रास, भय र अन्यौलमा बाँचिरहेका छन्। रात पर्नासाथ ड्रोनको आवाज, साइरन र विस्फोटले उनीहरूलाई थप डर त्रासमा राख्ने गरेको छ।

CP Hospital Dhangadhi

लाहोरस्थित एक मेडिकल विद्यार्थीले भने, “हामी ड्रोन विस्फोट क्षेत्रबाट केही मिनेटकै दूरीमा छौं, रात निकै पीडादायी छ।” पाकिस्तानस्थित विश्वविद्यालयहरू बन्द भएका छन्, र अधिकांश नेपाली विद्यार्थीहरू नेपाल फर्कन चाहन्छन्। तर हवाइ टिकट अभाव र सरकारी सहायताको पर्खाइमा उनीहरू अलपत्र छन्।

यता भारतको हिमाञ्चल प्रदेशस्थित चित्कारा विश्वविद्यालयमा अध्ययनरत ६० जना नेपाली विद्यार्थी पनि डरमा छन्। विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरू पहिल्यै भागिसकेका छन् भने विद्यार्थीहरू अनिश्चितताको अवस्थामा छन्।

nawajiwan
Attariya Hospital

बुटवल, धनगढी, विराटनगर लगायतका क्षेत्रबाट गएका ती विद्यार्थीहरूले प्रशासनसँग अनलाइन परीक्षा माग गरे पनि कुनै स्पष्ट सूचना नपाएको गुनासो गरेका छन्। “घरबाट बारम्बार आत्तिएको स्वर आउँछ, हामी यथासक्य चाँडो फर्कन चाहन्छौं,” उनीहरू बताउँछन्।

पाकिस्तानस्थित नेपाली दूतावासले केही विद्यार्थीहरूसँग सम्पर्कमा रहेको र सहजीकरण गरिरहेको बताएको छ। तर ठोस उद्धार योजना अझै सार्वजनिक भएको छैन। विद्यार्थीहरूको साझा माग छ— नेपाल सरकार तुरुन्त उद्धारमा जुटोस्।