
अत्तरियाः गोदावरी नगरपालिका, अत्तरिया कैलालीको आयोजनामा वैशाख २३ देखि २७ गतेसम्म (६–१० मे २०२५) पाँच दिने “Improve Your Business (IYB)” तालिम सम्पन्न भएको छ। तालिममा सशक्त महिला, समृद्ध नेपाल अभियान अन्तर्गत ILO Country Office Nepal र United Nations Nepal को सहकार्य रहेको थियो।


तालिममा सिलाई–कटाई, नास्ता पसल, मोबाइल र बेकरी पसल, होटल व्यवसाय, खुद्रा किराना, चप्पल, कृषि तथा कुखुरा पालन, फेन्सी पसललगायतका व्यवसाय सञ्चालन गरिरहेका २० जना सहभागी (१३ महिला र ६ पुरुष) सहभागी थिए। उनीहरूलाई व्यवसायिक सीप, लेखा–जोखा, चुनौती व्यवस्थापन, सम्भावित जोखिमको पूर्वतयारी तथा व्यवसायलाई फराकिलो बनाउने उपायहरूमा तालिम प्रदान गरिएको थियो।
गोदावरी नगरपालिका रोजगार शाखा प्रमुख रोहित कुमार जोशीका अनुसार तालिमले सहभागीहरूको व्यवसायिक समझदारी र क्षमता अभिवृद्धिमा सहयोग पुर्याएको छ। तालिमपछि सहभागी लक्ष्मण बोहराले यसले आफ्नो आम्दानी वृद्धिका लागि मार्गदर्शन गरेको बताए।
सहभागी रामदुलारी चौधरीले व्यवसायमा आउन सक्ने चुनौती, जोखिम, र लेखा प्रणालीको स्पष्ट जानकारी पाएको अनुभव सुनाइन्। मुख्य प्रशिक्षक अर्जुन भट्टराईले तालिमपछि स्थानीय व्यवसायमा सकारात्मक सन्देश फैलिने अपेक्षा व्यक्त गरे।
समापन कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले तालिममा सिकिएका सीप, ज्ञान र अनुभवलाई व्यवहारिक जीवनमा उतार्नुपर्नेमा जोड दिँदै सहभागीहरूलाई आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानको प्रयोग गरी व्यवस्थित, योजनाबद्ध र दूरदर्शी ढंगले व्यवसाय विस्तार गर्न सके सफल उद्यमी बन्न सकिने उल्लेख गर्नुभयो। साथै, तालिममा महिला सहभागिता उल्लेख्य रहेको बताउँदै महिला उद्यमशीलताको विकासमार्फत समृद्ध समुदाय निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, ILO नेपालका निर्देशक सौरभ शाहले स्थानीय स्तरमा प्रदान गरिएका यस्ता तालिमहरू दीर्घकालीन रूपमा आर्थिक सशक्तीकरणको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँ र बस्तीमा रहेका सीपयुक्त जनशक्तिलाई व्यवस्थित व्यवसायमा रुपान्तरण गर्न सके रोजगारी सिर्जना, आय आर्जनमा वृद्धि र सामाजिक रूपान्तरण सम्भव हुने बताउनुभयो। उनले थपे, “साना र मझौला व्यवसायहरू राष्ट्रको आर्थिक मेरुदण्ड हुन्, यिनलाई सुदृढ बनाउन यस्ता तालिमहरू अत्यन्त महत्वपूर्ण छन्।” शाहले तालिमबाट उत्पन्न उत्साह, ऊर्जा र जाँगरलाई निरन्तरतामा रूपान्तरण गर्न आग्रह गर्दै ILO सधैं यस्तो प्रयासमा साथ रहने प्रतिबद्धता समेत व्यक्त गरे।
























