धनगढीमा प्रहरीकै संलग्नतामा तस्करीको आरोप, पत्रकार महासंघमा बेनामी उजुरी

Image
Nisarga Hospital

धनगढी: सादा पोशाकमा खटिएका प्रहरी र सुराकर्मीहरू संगठित तस्करीमा संलग्न रहेको गम्भीर आरोप लगाउँदै नेपाल पत्रकार महासंघ, कैलाली शाखामा एक बेनामी उजुरी परेको छ। ‘राम सिंह’ नामबाट पठाइएको उक्त उजुरीमा, भारतबाट चिनी, मल, उखुलगायतका सामग्रीहरू रातारात नेपाल भित्र्याइने र त्यसको बदलामा व्यापारीहरूसँग मासिक लाखौं रुपैयाँ असुल गरिने उल्लेख छ।

CP Hospital Dhangadhi

पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले उजुरीलाई सूचना स्वरूप लिइएको स्पष्ट पार्दै भने, “महासंघ अनुसन्धान गर्ने निकाय होइन, तर पत्रकारहरू अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र छन्।” उनले उजुरी गम्भीर प्रकृतिको भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक भएको बताए।

उक्त उजुरीमा कैलालीका प्रमुख सीमावर्ती नाकाहरू — टिकापुर, भजनी, हँसुलिया, फूलबारी, जुगेडा, नल्का घाट, डोकेबजार, त्रिभुवन बस्ती, बेलौरी र भुडा — मार्फत दैनिक लाखौं रुपैयाँ बराबरका वस्तुहरूको अवैध ओसारपसार भइरहेको दाबी गरिएको छ। ती नाकाहरूलाई ‘संवेदनशील क्षेत्र’ को रूपमा चिनिएको उजुरीमा उल्लेख छ।

nawajiwan
Attariya Hospital

सादा पोशाकमा खटिएका प्रहरी, सुराकी ब्यूरो इन्चार्ज, सिभिल इन्चार्ज र ‘टाइगर टोली’का केही सदस्यहरू उच्च प्रहरी अधिकारीलाई जानकारी नदिई तस्करीलाई सहज बनाएको तथा प्रत्यक्ष लाभ लिएको आरोप पनि उजुरीमा लगाइएको छ। केही प्रहरी अधिकारीहरूको नामसमेत खुलाइएको जनाइएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले हालसम्म उजुरीबारे जानकारी नपाएको बताए। तर उनले उजुरी प्राप्त भएमा प्रारम्भिक छानबिन गरिने र दोष प्रमाणित भएमा प्रहरी ऐन तथा नियमअनुसार कारबाही अघि बढाइने स्पष्ट गरे।

उजुरीकर्ताले संघीय सरकार, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।