
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी सुद किवु प्रान्तको कसाबा गाउँमा रातको समयमा आएको विनाशकारी बाढीले एक सयभन्दा बढीको ज्यान लिएको छ। मुसलधारे वर्षापछि बिहीबार–शुक्रबार राति आएको बाढीले घर, संरचना, र मानवीय जीवनमा ठुलो क्षति पुर्याएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।

क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीका अनुसार कासाबा नदीले ओभानो क्षेत्रबाट ढुङ्गा, ठूला रूख र माटो बगाउँदै खोलामा ताल बनाएको थियो, जसको छेउमा रहेका घरहरू राति भत्किएर विस्थापित भए। “मृतकमा धेरैजसो बालबालिका र वृद्धवृद्धा छन्,” अकिलीले बताए।
क्षेत्रीय प्रशासक सामी कालोन्जीले मृत्यु सङ्ख्या १०४ रहेको जनाए पनि स्थानीयले शनिबारसम्म ११९ शव फेला परेको बताएका छन्। बाढीका कारण कम्तीमा २८ जना घाइते भएका छन् भने १५० भन्दा बढी घरहरू पूर्णतः ध्वस्त भएका छन्।




टाङ्गानिका तालको छेउमा रहेको यो गाउँ इन्टरनेटविहीन तथा दुर्गम भएकाले उद्धार र संचारमा कठिनाइ भएको मानवीय सहायता संलग्न एक स्थानीय स्रोतले एएफपीलाई जानकारी दिएको छ।
पूर्वी कङ्गोका ठूला ताल क्षेत्रहरूमा यसरी बर्सेनि बाढीको विनाश देखिने गरेको छ। सन् २०२३ मा मात्रै दक्षिण किवुमा यस्तै बाढीबाट करिब ४०० जनाको मृत्यु भएको थियो।



































