
युद्धविरामको घोषणा भएको तीन घण्टा पनि नबित्दै पाकिस्तानले सम्झौता उल्लङ्घन गरेको भारतले गम्भीर आरोप लगाएको छ। शनिबार साँझ ५ बजे युद्धविराममा सहमति भएको भए पनि राति ८ बजेदेखि पाकिस्तानले जम्मु–कश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोली र ड्रोन आक्रमण सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे आपतकालीन पत्रकार सम्मेलन गर्दै पाकिस्तानको आक्रमणलाई ‘निन्दनीय’ भन्दै त्यसको ‘कडा जवाफ’ दिइरहेको जानकारी दिएका छन्।
“पछिल्ला केही घण्टादेखि पाकिस्तानले युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले उचित प्रतिकार गरिरहेको छ,” उनले भने। मिश्रीले पाकिस्तानले भारतीय सीमाभित्र प्रवेशको प्रयास गरिरहेको आरोप पनि लगाएका छन्। उनका अनुसार सेनालाई आक्रमणको स्वतन्त्रता दिइएको छ र स्थिति ‘निकट निगरानी’मा राखिएको छ।
भारतले पाकिस्तानलाई तत्काल आक्रमण रोक्न र परिस्थितिलाई गम्भीरतापूर्वक बुझ्न चेतावनी दिएको छ। साथै, भविष्यमा थप कडा कारबाहीका लागि सेनालाई स्पष्ट निर्देशन दिइएको मिश्रीले बताए।
दुई देशबीच केही घण्टाअघि मात्र अमेरिकी मध्यस्थतामा युद्धविरामको समझदारी भएको थियो, तर पाकिस्तानको कथित उल्लङ्घनले यो सहमति च्यातिएको भारतको आरोप छ।




























